मानवयात्रा : जन्मदेखि खरानीसम्म !!!

by 22:43:00 0 comments
कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् ! व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ ! छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन ! समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन, सुख र आनन्दको महसुस जीवनमा कहिल्यै गर्न पाएको छैन । ४० वर्षे व्यक्तिको मात्रै होइन, ५० वर्षे वा ६० वर्षे वा त्योभन्दा बढी वा घटीको पनि हालत उस्तै छ, मनमा लोभ त्यस्तै, अहंकार त्यस्तै, बेइमानीपन त्यस्तै ।परिवर्तन सत्य हो । परिवर्तनलाई स्वीकार्नु पर्छ । परिवर्तनजत्तिको अकाट्य सत्य अरु हुनै सक्दैन । जन्म परिवर्तन हो भने मृत्यु पनि परिवर्तन हो । जन्मँदा एउटा आकारप्रकार हुन्छ भने मर्दाका बखत आकारप्रकार र रुप पूरै परिवर्तन भइसकेको हुन्छ । अब फेरि कुनै एक ४० वर्षे उमेरवाला व्यक्तिलाई उमेर बढाएर र घटाएर हेरौँ । ४० वर्षमा २० वर्ष उमेर थपेर हेरौँ । अनुहारमा चाउरीपन देखा पर्छ । काम गर्ने जाँगर जति ४० वर्षमा थियो, त्यति हुँदैन । खानाको मात्रा घट्छ । शरीरका अंगहरु केही मात्रामा गल्छन् ।६० वर्ष उमेरको त्यही व्यक्तिलाई अर्को २० वर्ष थपेर हेरौँ । उमेर ८० हुन्छ । असी वर्षको उमेरवाला वृद्धलाई समाजका कुनाकाप्चामा भेट्न सकिन्छ । कपाल सेतै फुलेको हुन्छ । गाला पूरै नभए पनि ८० प्रतिशत चाउरी परेको हुन्छ । खाना खान मन लाग्दैन । किन पनि खानामा अरूचि देखा पर्छ भने खाना पचाउने इन्जिन नै पुरानो र शिथिल भइसकेको हुन्छ । स्मरणशक्ति कमजोर हुन्छ । आँखा धमिलो हुन्छ । शरीरबाट मासुको मात्रा कम हुन्छ । छाला हड्डीमा टाँसिन्छ । पाइला सार्न मुस्किल हुन्छ । श्वासप्रश्वासमा कमजोरी देखा पर्छ । कुल मिलाएर शरीरका प्रायः सबै अंगहरु पुराना र कमजोर हुँदै जान्छन्, ठीकसँग काम गर्न सक्दैनन् ।८० वर्षको मान्छेले दिसापिसाब पनि ठीक तरिकाले व्यवस्थापन गर्न सक्दैन । कुनै बेला अर्काको आकर्षक ज्यान देख्दा लोभिएर मुखबाट पानी बगाउने मान्छे आफ्नो शरीर देख्दा घिन मान्ने अवस्थामा पुग्छ । त्यसमाथि फेरि २० वर्ष थपेर हेरौँ । यतिबेला ऊ १०० वर्षको हुन्छ । १०० वर्षको मान्छेसँग केही बाँकी रहँदैन, रहन्छ भने नसुन्ने कान हुन्छ । नदेख्ने, देखे पनि साह्रै धमिलो देख्ने आँखा हुृन्छ । खाना पचाउन नसक्ने आन्द्रा र प्यान्क्रियाजहरु हुन्छन् । पौष्टिक आहार ग्रहण गर्न सक्ने वा चपाउन नसक्ने गिजामात्रै हुन्छ । स्वादै थाहा नपाउने जिब्रो बाँकी रहन्छ । कमजोर धड्कनवाला मुटु, बिस्तारै काम गर्ने मृगौला, थोरै काम गर्ने फोक्सोलगायतका भित्री अंगहरु बाँकी रहन्छन् ।कुनै एउटा अंगले कतिबेला काम गर्न छाड्छ, थाहा हुँदैन । यसको अर्थ १०० वर्ष पुगेर वृद्ध शरीर कतिबेला ढल्छ, थाहा हुँदैन । यतिबेलालाई शरीर छाड्ने वा मर्ने अवस्थाको कल्पना गर्न सकिन्छ र उमेर थपिएको सम्बन्धित व्यक्तिले आफूलाई १०० वर्ष पुगेको कल्पना गरेर मृत्युशैयामा बसेको र डढेर खरानीसम्म भएको सजिलै अनुमान र कल्पना गर्न सक्छ । आफ्नो खरानी आफैँ हेर्न पनि सक्छ । प्रमाण यही हो कि हिजो ४० वर्षको मान्छे आज खरानीमा परिणत भएको छ । त्यही ४० वर्षको मानिस भविष्यको खरानी हो । यसमा कसैले शंका नगर्दा हुन्छ र सत्य हो पनि यही ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: