सिन्धुली दुधौली नगर पालिका भल्वाही बसनिया मा नमूनायोग्य काम हुँदै

by 09:36:00 0 comments

सिन्धुली भल्वाही  बसनिया । नियमित वा विभिन्न प्रकारले रकम सङ्कलन गर्ने र बचतकर्तालाई आवश्यक परेका बेला धेरथोर रकम उपलब्ध गराउने सहकारीको सामान्य कार्य हो । तर, सिन्धुली जिल्लाको दुधौलीमा एउटा सहकारीले सहकारीबारेको आमबुझाइलाई फरक बनाउने ढङ्गले काम गर्ने प्रयास थालेको छ । बाँझो रहेका र किसानले खेती गरिरहेका जग्गा प्रयोग गरेर कृषि उत्पादन गर्ने लक्ष्यका साथ नमूना कृषि सहकारीले उदाहरणीय काम गर्ने जमर्को गरेको छ । 
५० विघामा नमूना खेती
सहकारीमार्फत् कृषि उत्पादन गर्ने नमूना कृषि सहकारी संस्था सिन्धुलीले जिल्लाको दुधौली नगरपालिका–२ मा तत्काल ५० बिघा जग्गामा कृषिमा नमूनायोग्य काम गरेर देखाउने प्रयास थालेको छ । काम सुरु गरेको छोटै अवधिमा करिब एक सय १७ परिवार किसानले संस्थालाई ३५ बिघा जग्गा उपलब्ध गराइसकेका छन् ।
संस्थालाई उपलब्ध गराइएको जग्गाबापत जग्गाधनीलाई प्रतिबिघा बार्षिक ३२ मुरी धान दिने सम्झौता गरिएको छ । नमूना कृषि सहकारीले सञ्चालन गर्ने कृषि परियोजनामा दैनिक ज्यालादारीमा काम गर्न इच्छुक स्थानीयलाई प्राथमिकता दिइने पनि संस्थाले जनाएको छ । 
तत्काल ५० बिघाबाट काम गुरु गरे पनि निकट भविष्यमै  दुई सय बिघामा कृषि परियोजना सञ्चालन गर्ने योजना संस्थाको रहेको छ । किसानहरुले गरेको विश्वासका कारण आफूहरु उत्साहित भएको संस्थाका संयोजक रुद्रदीप ढकाल  बताउँछन् । संस्थालाई विश्वास गरेर किसानले आवश्यक जग्गा उपलब्ध गराएपछि उत्साहित संस्थाका सञ्चालकहरु चुनौति पनि बढिरहेको बताउँछन् । 
भण्डारणमा ठूलै चुनौती
सहकारीबाट उत्पादित वस्तु भण्डारणमा सबैभन्दा ठूलो समस्या हुने उनीहरुको बुझाइ छ । ‘उत्पादित कृषि उपज भण्डारण गर्ने र प्रशोधन गरेर शहरमा लगेर बेच्ने उद्देश्य हो’, संस्थाका अगुवा खेटराज अधिकारीले बताए ।  
‘धान रोप्नका लागि पनि प्रशस्त पुग्ने सिंचाइ व्यवस्था छ । जग्गा घुम्ने गरी कृषि सडक बनाउन प्रदेश सरकारले बजेट दिएको छ । तर भण्डारणमा समस्या हुने देखियो,’ नमूना कृषि सहकारी संस्थाका अर्का अगुवा श्यामचन्द्र खतिवडा बताउँछन् ।  
प्रविधिमा जोड
कृषि कार्यमा उपलब्ध आधुनिक प्रविधिलाई सम्भव भएसम्म प्रयोग गर्ने लक्ष्य संस्थाले राखेको छ । यति गर्दा पनि कम्तिमा चार जना व्यक्तिलाई संस्थाले पूर्णकालीन रुपमा रोजगारी दिनुपर्नेछ । संस्थालाई जग्गा उपलब्ध गराउने प्रत्येक किसानले न्यूनतम् १० कित्ता शेयर लिनुपर्ने प्रावधान राखिएको अधिकारी बताउँछन् । किसानका लागि फाइदाको विषय यो छ कि घाटा व्यहोर्नु परे पनि नमूना कृषि सहकारी संस्थाले प्रतिवर्ष प्रतिबिघा ३२ मुरी धान उपलब्ध गराउनेछ ।
प्रदेश सरकारको सहयोग
नमूना ढङ्गले गर्न लागिएको यो परियोजनाका लागि प्रदेश सरकारले चक्लाबन्दी र कृषि सडकका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । आधुनिक कृषि यन्त्र र उपकरण खरिदका लागि प्रदेश सरकारले एक करोड दिएको छ भने समुदायबाट २५ लाख उठिसकेको छ । 
सहकारीको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद गर्न ६० लाख रुपैयाँमध्ये कूल लागतको २५ प्रतिशत दुधौली नगरपालिकाले दिने भनेर मेयर घनश्याम राउतले घोषणा गरिसकेका छन् । यो आयोजना सफल रुपमा कार्यान्वयन भएमा देशका अन्य विभिन्न पाँच स्थानमा थप परियोजना सञ्चालन गर्ने लक्ष्य लिइएको संस्थाका अगुवा श्यामचन्द्र खतिवडाले जानकारी दिए । 
१० बिघाभन्दा बढी क्षेत्रफलमा यस्तो आयोजना सञ्चालन गरिएको नेपालमा नै पहिलो मानिएको छ । झापा जिल्लामा १० बिघासम्मको क्षेत्रफलमा यस्तै प्रकारले परियोजना सञ्चालन गरिएको थियो । 
परियोजनामा साढे तीन महिनादेखि तीन वटा स्काभेटरको प्रयोग गरी काम भइरहेको छ । 
कृषि मन्त्री दावा दोर्जेको विशेष पहल
मुलतः यो प्रदेश ३ को सरकारको नै अवधारणा हो । प्रदेश ३ का कृषिमन्त्री दावा दोर्जे लामाले यसका लागि धेरै नै पहल गरेका छन् । यो काम सफल पार्न उनले धेरै नै पापड बेल्नुप¥यो । यो काममा अवरोध गर्ने मन्त्रालयका एक सचिवलाई स्थानान्तरण गरेर अर्काे सचिव ल्याएर उनले कामलाई अगाडि बढाए । 
यसलाई प्रारम्भ गर्न र सफल गराउनका लागि दुधौलीका मेयर, दुई नम्बरका वडा अध्यक्ष, संस्थाका संयोजक रुद्रदीप ढकाल, निरकुमार अधिकारी, लालमोहन अधिकारी, अर्जुन घिमिरे, भानु पहाडीसहित २० जना जति निरन्तर खटिरहेका छन् । 
देशकै नमूना हुनसक्छ
प्रदेश ३ का कृषिमन्त्री, दुधौलीका मेयर, दुई नम्बरका वडा अध्यक्ष, स्थानीय २० जना अगुवाहरु अनि कृषि ज्ञान केन्द्र सिन्धुलीको पहल, सहभागिता र सहयोगमा देशलाई नै उत्प्रेरणा दिने गरी सिन्धुलीको दुधौलीमा प्रारम्भ भएको यो नमूना कृषि उत्पादन सहकारीे देशभरिकै नमूना हुनसक्छ । यसलाई स्थानीय, प्रदेश सरकारले मात्र होइन केन्द्रले समेत प्रोत्साहन गरेमा देशैभरि विस्तार गर्न सकिन्छ ।   

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: