स्थानीयले माग गरेको झण्डै एक दशकपछि सिन्धुलीमा विमानस्थल बन्ने भएको छ।

by 00:46:00 0 comments

सिन्धुली : स्थानीयले माग गरेको झण्डै एक दशकपछि सिन्धुलीमा विमानस्थल बन्ने भएको छ।
जिल्लाको कमलामाई नगरपालिका- ८ को कल्याणी मन्दिर नजिकै विमानस्थाल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरेपछि विमानस्थल बन्ने पक्‍का भएको हो।
प्राधिकरणका म्यानेजर तथा सिनियर इन्जिनियर नलविक्रम थापाका अनुसार सिन्धुली विमानस्थल निर्माणका लागि पहिलो चरणको अध्ययन तथा प्राविधिकरुपमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार गर्ने कार्य सम्पन्न भएको छ। 
कमलामाई नगरपालिका ८ को करकरे र सिस्नेरीको बीचमा पर्ने कल्याणी मन्दिर नजिकै १ हजार ४ सय ४२ रोपनी १३ आना २ पैसा १ दामको ७ लाख ३४ हजार ३८ स्क्वायर मिटर क्षेत्रफलमा विमानस्थान निर्माणका लागि डीपीआर तयार पारिएको हो। 
आर्किटेक्ट्स इन्जिनियर्स, प्लानर्स एन्ड प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट्स नेपालले विमानस्थलको डीपीआर तयार पारेको हो।त्यसको अध्ययन गरी केही प्राविधिक कुरा मिलाउने काम भइरहेको छ।अब छिट्टै वातावरण प्रभाव मुल्यांकन (इआईए) गरेर विमानस्थलको निर्माण कार्य सुरु गरिने छ,' इन्जिनियर थापाले भने।
इआईए रिपोर्ट आएपछि आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १३ प्रतिशत भ्याट, १० प्रतिशत कन्टेन्जेन्सीसहित कुल ९३ करोड ९२ लाख ७८ हजार ३ सय ९८ रुपैयाँ ३५ पैसा विमानस्थल निर्माणको लागत स्टिमेटमा उल्लेख गरिएको  इन्जिनियर थापाले उल्लेख गरे। यो विमानस्थलसम्म पुग्ने सडक, रनवे, पार्किङ, स्प्रोन आदीको स्ट्रक्चरको लागत हो।
'तर, कमला नदी किनारमा विमानस्थल निर्माण गरिने भएकाले कमला नदीको किनारमा वाउन्डरिङ गर्न धेरै रकम खर्च हुने भएकाले कुल लागत बढ्न सक्नेछ,' उनले भने। सिन्धुली, रामेछाप, ओखलढुङ्गा, काभ्रे, महोत्तरी, धनुषा र उदयपुर जिल्लाका लागि सुविधा पुग्ने गरी निर्माण थालिएको विमानस्थलको डिजाइन यरक्राप्ट 'एटिआर ७२ डी' रहेको छ।
'७२ सिटेसम्म विमान अवतरण तथा उडान गर्न सक्नेगरी १ हजार ७ सय ६० मिटर लामो र ३० मिटर चौडाई भएको धावनमार्ग निर्माण गरिने पनि स्टमेटमा उल्लेख छ।६ सय मिटर लम्बाइ‌को पार्किङ क्षेत्र बनाइने छ,' थापाले थपे। विमानस्थलको निर्माणका लागि अध्ययन गर्न नेपाल सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। 
पूर्व कृषिमन्त्री तथा संघीय संसद हरिबोल गजुरेलको अग्रसरतामा विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रियाको थालनी भएको थियो। विमानस्थल निर्माणस्थल सिन्धुली सदरमुकाम माढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीको बीचमा वीपी राजमार्गसँग जोडिएको छ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तरगत महोत्तरीको बर्दीवासबाट वीपी राजमार्गहुँदै २५ किलोमिटर दूरीमा सिन्धुली विमानस्थलमा आउन सकिन्छ भने मध्यपहाडी लोकमार्ग तथा वीपी राजमार्गहुँदै ३२ किलोमिटर दूरीमा रामेछापबाट आइपुगिन्छ। 
सिन्धुली विमानस्थलबाट सिमरा विमानस्थलसम्म ९५ किलोमिटर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८५ किलोमिटर र लुक्ला विमानस्थल ९९ किलोमिटर दूरीमा पर्दछ। जिल्लामा विमानस्थल बन्ने भएपछि स्थानीय भने निक्कै उत्साहित भएका छन्।
सिन्धुली जिल्लाहुँदै राजधानी काठमाडौं तथा मध्य तराईका साथै पूर्वी र मध्यपहाडी जिल्ला जोड्ने चार ठूला राजमार्ग निर्माण भएपछि जिल्लामा स्थानीयले विमानस्थल निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए।
बनेपा-बर्दीवास वीपी राजमार्ग, मध्येपहाडी लोकमार्ग, धरान-चतरा तथा मदनभण्डारी लोकमार्ग जिल्लाहुँदै निर्माण भएका छन् । यी राजमार्गमा हुने सवारी दुर्घटना र राज्यका भीआपी तथा भीभीआइपीदेखि आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतमा समेत विमानस्थल निर्माण भएपछि सहज हुने भएको छ। यस विमानस्थल निर्माणपछि सोलु तथा लुक्लासम्म जाने आउने पर्यटकका लागि सिन्धुलीबाट एक उपयुक्त गन्तव्य हुने पनि अनुमान गरिएको छ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: